अर्थमन्त्री डा. युवराज खतिवडाले हल्लाखोरहरुले छिनमा बजार उचाल्छन् अनि छिनमा ओराल्छन् भनी एउटा टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिको सार विहीबारको बजारमा पनि देखिएको छ । सेयर किन्न अनि बेच्न तल्लिन सीमित व्यक्ति तथा समूहले केही दिनको अन्तरमा मात्र नभई एक कारोबार दिनमा नै हल्लाखोर प्रवत्तिबाट बजारमा अस्वभाविक उतार चढाव निम्त्याउने गरेका छन् ।
विहीबारको यस्तै श्रृंखलाले लगानीकर्तालाई सेयर कारोबारको निर्णय तत्काल गर्न नसक्ने अवस्थामा पुर्याएको छ । यद्यपी कारोबार रकमको आकारले भने बजारप्रति निराश बन्नुपर्ने अवस्था नरहेको देखिन्छ ।
विहीबार बजार खुलेपछि तिब्र गतिमा ओरालो लागेर केही बेरपछि फेरी तिब्र गतिमा उकालो लागेको थियो । सुधारको क्रम केही बेर पनि टिक्न नसकेर फेरी उस्तै गतिमा तल झरेको बजार ३.२३ अंकको गिरावटमा बन्द भएको हो । योसँगै बजार परिसूचक नेप्से १२२७.३७ अंकमा ओर्लिएको छ ।
१६५ कम्पनीका १५ लाख ८२ हजार ५५ कित्ता शेयरहरु ५ हजार ४४० कारोबारबाट ४२ करोड ८६ लाख ४४ हजार ६०६ रुपैयाँमा किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५ करोडले बढेको हो । यसले बजारलाई अझै टेवा प्रदान गरिरहेको छ । बिक्री चाप धेरै आउँदा खरिद चाप पनि सन्तुलित अवस्थामा रहेको देखिन्छ ।
विहीबार अधिकांश समूहगत परिसूचकहरुमा गिरावट आएको छ । व्यापार, वित्त र जीवन बीमा समुह झिनो अंकले सुधार भएको बजारमा अरु सबै समुह ओरालो लागेका छन् ।
वाणिज्य बैंकहरुको सेयरमा विहीबार धेरै कारोबार चाप देखिएको छ । कारोबार रकमका आधारमा शिर्ष १० कम्पनी मध्ये ९ वटा वाणिज्य बैंक छन् भने एउटा जीवन बीमा कम्पनी परेको छ । यसमा एनएमबी बैंक पहिलो स्थानमा छ भने माछापुछ्रे, प्रभु, एनआईसी एशिया तथा नेपाल बैंक लगायतले एनएमबिलाई पछ्याएका छन् ।
विहीबार धेरै सेयरमूल्य घट्ने तथा बढ्ने कम्पनीको सूचीमा साना तथा मझौला कम्पनी परेका छन् । यस्ता कम्पनीको सेयर संख्या थोरै हुने भएकाले चलखेल गर्नेहरुले योजनाबद्ध रुपमा फराकिलो अन्तरमा सेयर मूल्य घटाउने तथा बढाउने गरी आफू अनुकुल कारोबार गर्ने गर्दछन् ।
विहीबार कारोबारमा आएका १६५ मध्ये ४७ कम्पनीको सेयरमूल्य बढेको छ भने बाँकी कम्पनीहरुको सेयर मूल्य तल झरेको छ । दशैं नजिकिँदै गर्दा लगानीकर्ता खर्च जुटाउने तरखरमा लागेपछि पनि बजारमा बिक्री चाप बढेको हो ।
विहीबार समग्र बजार पूँजीकरण १४ खर्ब ६१ अर्ब ९० करोड रुपैयाँमा झरेको छ । बुधबार बजार दोहोरो अंकले घट्दा बजार पूँजीकरण पनि घटेर १४ खर्ब ६५ अर्ब ७५ करोड रुपैयाँमा ओर्लिएको थियो ।