जलविद्युत् कम्पनीले स्थानीयलाई भन्दा पहिल्यै सर्वसाधारणलाई आईपिओ बिक्री गर्न पाउने

Nov 29, 2018 rss



जलविद्युत् कम्पनीले स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर बिक्री नगरिक नै आम नागरिकलाई बिक्री गर्न पाउने भएको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड,निर्देशिका संशोधन गरी नयाँ व्यवस्था गरिदिएको हो । 

रसुवागढी तथा साञ्जेन जलविद्युुत् कम्पनीको पहलमा बोर्डले नयाँ व्यवस्था गरेको हो ।  ती कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा ऋणदाता संस्थाका कर्मचारीलाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित रसुवावासीलाई साधारण शेयर बिक्रीको तयारी गरेको थियो तर रसुवाका स्थानीय तह तथा जिल्ला समन्वय समितिले तत्काल आफूहरु साधारण शेयर खरीद गर्न नसक्ने अवस्था रहेको भन्दै बोर्डलाई विशेष अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकामा सामान्य संशोधन गरेको हो ।

रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाले आफूहरुले सर्वसाधारणलाई शेयर बिक्री गर्ने गरी विवरणपत्र तयारीको क्रममा रहेको जानकारी दिए ।

स्थानीयवासीको मागलाई सम्बोधन गर्दै रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले अब कूल पूँजीको १५ प्रतिशतका दरले हुने साधारण शेयर आम सर्वसाधारणलाई पहिला बिक्री गर्नेछ । त्यसपछि मात्रै आयोजना प्रभावित रसुवावासीलाई बिक्री गरिनेछ ।

बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका संशोधन गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । स्थानीयले कुनै कारणवश शेयर किन्न नचाहे वा कम्पनीले पहिला सर्वसाधारणमा निष्काशन गर्ने इच्छा देखाए आवश्यक निर्णय गर्न सक्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।

बोर्डले गत कात्तिक १२ गते नै उक्त निर्देशिका संशोधन गरेको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिए । स्थानीयवासीभन्दा अघि सर्वसाधारणलाई शेयर निष्काशन गरे त्यस्ता संस्थाले आयोजना प्रभावितका लागि निष्काशन गर्ने शेयरको प्रत्याभूति गर्नुपर्ने व्यवस्था भने गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार जलविद्युत् कम्पनीले सार्वजनिक निष्काशन गरेको छ महीना वा विद्युत्को उत्पादन शुरु हुनुभन्दा तीन महीनामा जुन पहिला हुन्छ सो समयभित्र स्थानीयलाई शेयर दिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

सोही प्रावधानका आधारमा अब रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी गरेको प्रमुख कोइरालाले जानकारी दिए ।




समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।