सिद्धार्थ बैंक र शिवम् सिमेन्टसको लाभांश खाने कि शेयर बेच्ने ? निर्णय तपाईकै !

Oct 15, 2019 10:16 AM Merolagani



सिद्धार्थ बैंक र शिवम् सिमेन्टसका शेयरधनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट दुबै कम्पनीले प्रस्ताव गरेका लाभांश आफैँ खाने कि शेयर बेच्ने निर्णय गर्ने असोज २८ गते मंगलबार अन्तिम दिन रहेको छ।

दुबै सूचीकृत कम्पनीले असोज २९ गते मंगलबार लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि शेयर दाखिला खारेजी (बुकक्लोज) गर्दैछन्।

यसअनुसार सम्बन्धित कम्पनीको लाभांश पाउन बुकक्लोज अघिल्लो दिनसम्म शेयरधनी हुन आवश्यक छ। 

गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश गरि कूल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको सिद्धार्थ बैंकले कात्तिक ७ गतेको १८ औं वार्षिक साधारण सभाबाट उक्त लाभांश अनुमोदन गर्दैछ।

सिद्धार्थ बैंक (SBL) ले साधारण सभा र लाभांश वितरणका लागि असोज २९ गते बुकक्लोज गर्न लागेकाले उक्त लाभांश पाउन असोज २८ गते मंगलबारभित्र शेयरधनी बनिसक्नुपर्छ। असोज २७ गते सोमबार धितोपत्रको दोस्रो बजारमा सिद्धार्थ बैंकको शेयरमूल्य ३३७ प्रतिकित्ता रुपैयाँमा कारोबार भएको छ। 

बैंकले कात्तिक ७ गते बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा बिहान ११ बजे साधारण सभा आब्हान गरेको छ। सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धको सम्पूर्ण आवश्यक काम सञ्चालक समितिलाई पूर्ण रुपमा सुम्पिने गरी विशेष प्रस्ताव उपर छलफल गरि निर्णय गर्दैछ ।

यस्तै बैंकको स्वतन्त्र सञ्चालक पदमा बाँकी अवधिका लागि हसना शर्माको नियुक्तिलाई पनि अनुमोदन गर्ने एजेण्डा पनि साधारण सभामा छ।

उता गत आवको मुनाफाबाट १५.७८९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको शिवम् सिमेन्ट्स (SHIVM) को लाभांश पाउन पनि असोज २८ गते मंगलबारभित्र शेयरधनी बनिसक्नुपर्छ। असोज २७ गते सोमबार धितोपत्रको दोस्रो बजारमा शिबम् सिमेन्टसको शेयरमूल्य ५०८ प्रतिकित्ता रुपैयाँमा कारोबार भएको छ । 

शिवम सिमेन्ट्सले उक्त लाभांश अनुमोदन गर्न कात्तिक ८ गते राष्ट्रिय सभा गृह, काठमाडौंमा चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले आफ्नो उदेश्य एवं परियोजना बमोजिमका कार्यहरु परिपूर्तिका लागि कम्पनीको चुक्ता पूँजीभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिनुपरेको खण्डमा कर्जा सम्झौता गरि आवश्यक मर्जा सुविधा लिने सम्बन्धमा आवश्यकता अनुसार निर्णय गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ।

र अगामी ४ वर्षका लागि संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकहरुको निर्वाचन तथा मनोनयन गर्ने लगायतका प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा रहेको छ।