सहकारी मर्ज गराउँदै काठमाण्डौं महानगरपालिका, ७०० मा झार्ने योजना

Dec 05, 2019 11:25 AM RSS

काठमाण्डौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीलाई एकापसमा एकीकरण गरी सङ्ख्यात्मक रूपमा कम गर्ने कार्य शुरु गरेको छ। हाल महानगरपालिकामा एक हजार ८५६ सहकारी संस्था रहेका छन्, जसलाई घटाएर ७०० बनाउने योजनाको साथ महानगरपालिका लागि परेको छ।

संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप महानगरपालिकाले आफ्ना क्षेत्रभित्रका साना सहकारीलाई एकीकरण गर्ने प्रक्रिया थालेको हो।

केही दिनअघि मात्र कामपा वडा नं २४ को विराज बचत तथा ऋण सहकारी र वडा १३ को सप्तदीय बहुउद्देश्यीय सहकारीलाई एकापसमा एकीकरण गरी सप्तदीप बचत तथा ऋण सहकारी संस्थाको रूपमा सञ्चालन प्रक्रिया शुरु गरेको छ। त्यसैगरी, वडा नं २२ मा रहेको सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था र ३२ वडाको तपस्वी बचत तथा ऋण सहकारीलाई एकीकरण गरेर सिटीभिलेज बचत तथा ऋण सहकारी संस्थाका रूपमा सञ्चालन भइरहेको महानगरपालिकाले जनाएको छ।

महानगरपालिका प्रशासन प्रमुख नमराज ढकालका अनुसार मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरुप जान लागिएको हो। सहकारी ऐन २०७४ र कामपाको सहकारी ऐन २०७४ अनुरुप कानूनीरुपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ। सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार हुनुुपर्छ।

एकीकृत हुन चाहने दुईवटै सहकारीले महानगरपालिकाको सहकारी विभागमा निवेदन दिनुपर्छ। त्यसपछि महानगरपालिकाले थप प्रक्रिया अघि बढाउने प्रमुख ढकालले जानकारी दिए। सहकारी गाभ्न महानगरपालिकाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्ने उनको भनाइ छ। समान प्रकृतिका सहकारी एकापसमा गाभ्न सकिने छ। सर्वसाधारण ठगी गरेको भन्दै सहकारीविरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्यौट गरिसकेको विभागले जनाएको छ।

  • सहकारीको अनुगमन गर्दै महानगर

कामपाले पछिल्लो समय सहकारीको अनुगमन शुरु गर्ने कार्यलाई अगाडि बढाएको छ। पहिलो चरणमा नियम बाहिर रहेर सञ्चालन भई पत्रचार गरिएकालाई कारबाहीको प्रक्रिया अघि बढाइने छ। दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन दिइने बताइएको छ।

निर्देशन पालना नगरे कामपाको सहकारी ऐनअनुरुप कारवाहीको प्रक्रिया अघि बढाउने प्रमुख ढकालले बताए। सबै सहकारी काठमाण्डौ महानगरपालिका सहकारी ऐन २०७४ अनुसार सञ्चालन गरिनुपर्नेछ।

महानगरपालिकाका सहकारीमा करीब दुई लाख सदस्य छन् भने आठ हजारले रोजगारी पाएका छन्। सबै सहकारीबाट करीब सात अर्ब रुपैयाँ बराबरको शेयर, करीब ५२ अर्बको बचत परिचालन र ४१ अर्ब बराबरको ऋण प्रवाह भएको ढकालले जानकारी दिए।

सहकारी दर्ता हुने क्रम दिनदिनै बढिरहेको छ। सहकारी विभाग प्रमुख ढकालले भने, ‘आगामी दिनमा नयाँ सहकारीलाई सञ्चालनका लागि अनुमति दिनेभन्दा पनि सञ्चालनमा रहेकालाई नियमन र निर्देशन गरी राम्रो बनाउनेतर्फ हाम्रो जोड रहनेछ’ ।

सबै सहकारीलाई दैनिकरूपमा अनलाइनमार्फत आफ्नो जानकारी गराउन पनि महानगरपालिकाले निर्देशन दिएको छ। आफ्नो सहकारी दैनिकरूपमा कति आर्थिक कारोवार गर्दछ, लगानी र सङ्कलन भएको कति भन्ने विषयमा दैनिक जानकारी गराउनुपर्नेछ।

बचत तथा ऋण सहकारी सञ्चालन गर्न १०० सदस्य रहनुपर्ने, सञ्चालक सदस्यमध्ये ५० जनाले अनिवार्यरुपमा तालिम लिएको हुनुपर्ने, सदस्यमध्येकै ८० प्रतिशतले सहकारी सञ्चालन हुने क्षेत्रमा नै बसोवास गरेको हुनुपर्ने कानूनी प्रावधान छ। पछिल्लो समय सहकारीको सङ्ख्यामा वृद्धि भएसँगै साना–ठूला गरी देशभर ३५ हजार सहकारी सञ्चालनमा छन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।