भगवती हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Aug 22, 2023 11:24 AM Merolagani



भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज मंगलबार (भदौ ५ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुप्ोयँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपेयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले ८५ हजार ८१० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले १७ हजार १६२ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

 

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले निष्काशन गरेको आईपीओमा भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे ढिलोमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ।

सो आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर ११६ रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस् नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। केयर रेटिङ्गस् नेपालले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ।

केयर रेटिङ्गस् नेपालले कम्पनीलाई २०७९ चैत २२ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८१ बैशाख २२ गतेसम्म बहाल रहनेछ।

कस्तो कम्पनी हो?

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपालको प्रचलित कानून अन्तर्गत २०५७ पुस ३ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रुपमा दर्ता भई २०७५ बैशाख ६ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला का.म.न.पा वडा नं. ३२, सुविधानगरमा रहेको छ। कम्पनीले पोखरा महानगरपालिकाका विजयपुर खोलाको पानी उपयोग गरी ४.५ मेगावट क्षमताको विजयपुर १ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ। कम्पनीले २०६९ भदौ ५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।

सो आयोजनाको कुल लागत ७९ करोड ६८ लाख २९ हजार ८१८ रुपैयाँ ६८ पैसा रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ७० लाख ७३ हजार २९३ रुपैयाँ ४ पैसा रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.९९ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

निष्काशनबाट प्राप्त रकम आयोजनाको कर्जा भुक्तानीका लागि प्रयोग गरिने मुख्य उद्देश्य रहेको छ। त्यसैगरी, कम्पनीको वित्तीय एवम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न, कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न पनि आईपीओ निष्काशन गरेको जनाएको छ।

साथै, कम्पनीको प्रवन्ध–पत्रमा रहेको जारी पूँजीको १० प्रतिशत शेयर अयोजना प्रभावित क्षेत्रका वासिन्दालाई तथा जारी पूँजीको १५ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान अनुरुप १४ करोड ३० लाख १६ हजार २०० रुपैयाँ शेयर पूँजी बराबर आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा, सर्वसाधारण नेपाली नागरिकहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु, सामुहिक लगानी कोष तथा कर्मचारी समेत) लाई बिक्री वितरण गरी कम्पनीको चुक्ता पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ पुर्याउन यस आईपीओ निष्काशनमा ल्याएको हो।

कम्पनीले आईपीओ निष्काशनबाट संकलन भएको १४ करोड ३० लाख १६ हजार २०० रुपैयाँमध्ये ६ करोड ८८ लाख २ हजार ३२० रुपैयाँ कर्जा भुक्तानीका लागि तथा ७ करोड ४२ लाख १३ हजार ८८० रुपैयाँ मर्मत संभार तथा स्पेयर पार्टसका लागि खर्च गरिने विवरण पत्रमा उल्लेख छ।

गत चैत मसान्तसम्ममा साढे ११ करोड सञ्चित नाफा

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित मुनाफा ११ करोड ५४ लाख ७६ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १२ करोड ३४ लाख ३७ हजार रुपेयाँ खुद नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ।

चैत मसान्तसम्ममा १३ रुपेयाँ ९७ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी असार मसान्तसम्ममा १२ रुपैयाँ ६४ पैसा हुने प्रक्षेपण छ। त्यसैगरी, चालु आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १३ करोड ३४ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन गरी प्रतिशेयर आम्दानी १४ रुपैयाँ २५ पैसा पुर्याउने प्रक्षेपण गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ५८ पैसा पुग्ने प्रक्षेपण गरिएको छ। त्यसैगरी, चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ३२ पैसा पुग्ने प्रक्षेपण छ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७८/७९ मा विद्युत बिक्री मार्फत १६ करोड ८८ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको थियो।

पूँजी संरचना कस्तो?

हाल कम्पनीको अधिकृत पूँजी ६८ करोड रुपैयाँ रहेको छ भने जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ। यस्तै कम्पनीको चुक्ता पूँजी ४२ करोड ९० लाख ४८ हजार ५०० रुपैयाँ रहेको छ।

सर्वसाधारणका लागि छुट्याइएको १४ लाख ३० हजार १६२ कित्ता शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपेयाँ पुग्नेछ।

आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक शेयरधनीहरुको ७५ प्रतिशत आयोजना प्रभावित क्षेत्रका शेयरधनीहरुको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत कायम हुनेछ।

सञ्चालक समितिको संरचना

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ७ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक २ जना गरी ११ जना सञ्चालक रहने व्यवस्था रहेको छ।

कम्पनीको नियमावलीको नियम २८ मा भएको व्यवस्था अनुसार शेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा नियुक्त हुनका लागि कुनै पनि शेयरधनीले आफ्नो नाममा कम्तीमा १ हजार कित्ता शेयर लिएको हुनुपर्नेछ। तर स्वतन्त्र सञ्चालक र संगठित संस्थाको प्रतिनिधित्व गर्ने सञ्चालकको हकमा सो व्यवस्था लागु हुनेछैन।

हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ७ जना मात्रै सञ्चालक समितिमा रहेका छन्। सर्वसाधारणलाई शेयर निष्काशन भई बाँडफाँट पश्चात आगामी साधारण सभाबाट निर्वाचित भएपछि प्रबन्धपत्र अनुसार सञ्चालक चयन हुने कम्पनीले जनाएको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा हरी प्रसाद पाण्डे रहेका छन्। त्यस्तै, कम्पनीका अन्य सञ्चालकहरुमा चन्द्र बहादुर कार्की, किरण के.सी., रोशन के.सी., सागरमोहन भट्टराई, तुलसा पाण्डे र शक्ति पाण्डे रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य जलविद्युत आयोजनाहरुको अध्ययन, आयोजना निर्माण, विद्युत वितरण र अन्य जलविद्युत कम्पनीहरुमा लगानी गरी नेपालको जलविद्युत विकासमा १० वर्ष भित्र एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ। सोहि उद्देश्य अनरुप २ वर्ष भित्रमा यस कम्पनील सम्भाव्य नयाँ जलविद्युत आयोजनाहरुको अध्ययन गरी त्यस्ता आयोजनाहरुको विकास गर्ने तथा उपयक्त नँया आयोजनाहरुमा लगानी गर्ने जनाएको छ।

आयोजनाको अवधिभर कम्पनीले प्रचलित नियम कानूनमा भएको व्यवस्थाको अधिनमा रही देशमा रहेको जलश्रोतको अधिकतम उपयोगबाट विद्युत उत्पादन गर्ने र सो विद्युतलाई बिक्री वितरण गर्ने योजना बनाएको छ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।