शेयर शिक्षाः आईपीओमा कसरी आवेदन दिने? आवेदन दिन के के आवश्यक पर्दछ?

Sep 30, 2023 10:54 AM Merolagani



शेयर शिक्षाको अघिल्लो भागमा हामीले आईपीओ के हो? आईपीओका फाइदाहरु के के हुन्? भन्ने विषयमा चर्चा गरेका थियौँ। आजको यस भागमा हामी आईपीओमा कसरी आवेदन दिन सकिन्छ? आवेदन दिन के के आवश्यक पर्दछ भन्ने विषयमा चर्चा गर्न गइरहेका छौँ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेपश्चात राष्ट्रिय दैनिक पत्रिकामा आव्हान पत्र निष्काशन गर्दछ। सो पत्रमा कम्पनीले आईपीओ निष्काशनको संक्षिप्त विवरण समावेश हुन्छ। सोही पत्र पढी लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन दिने नदिने निर्णय गर्दछन्।

पहिला कम्पनीले निष्काशन गरेको आईपीओमा आवेदन दिन लामो समय लाइन बस्नु पर्थ्याे। फाराम भरेर, आवश्यक कागजात तथा नगद बोकेर दिनभरी जसो लाइन बस्नुपर्थ्याे। तर अहिले आफु बसेको ठाउँबाट आफुले चाहेको समयमा आईपीओमा आवेदन दिन सकिन्छ।

आईपीओमा कसरी आवेदन दिन सकिन्छ?

अहिले दुई तरिकाले कम्पनीहरुले निष्काशन गरेको आईपीओमा आवेदन दिन सकिन्छ। पहिलो भौतिक रुपमा बैंकमा उपस्थित भएर दोस्रो इन्टरनेटको प्रयोग गरेर आवेदन दिन सकिन्छ।

भौतिक रुपमा आवेदन दिन आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमा गई आवेदन फाराम भर्नुपर्छ। सो फाराम भरेर बुझाएपछि बैंकले रुजु गर्दछ र आस्बा प्रणालीमार्फत बैंक खातामा पैसा ‘ब्लक’ गर्दछ।

आईपीओमा आवेदन दिने दोस्रो तरिका सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरिरहेको मेरो शेयर वेबसाइट तथा एप हो। यस प्रक्रिया मार्फत आवेदकले निष्काशन अवधिभर, इन्टरनेट भएको स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नेछन्।

आवेदन दिन के के आवश्यक पर्दछ?

आईपीओमा आवेदन दिन आस्बा सेवा सहितको बैंक खाता र डिम्याट खाताको आवश्यकता पर्दछ। यसका लागि तपाईले आफुलाई पायक पर्ने बैंकमा गई फाराम भरी बैंक खाता खोल्न सक्नुहुन्छ। त्यसैगरी, तपाईले आफुलाई पायक पर्ने निक्षेप सदस्यकोमा गएर डिम्याट खाता खोल्नुपर्नेछ। कतिपय बैंकहरुले क्यापिटलमार्फत डिम्याट खाता खोल्न सेवा पनि उपलब्ध गराएका हुन्छन्। तपाईले बैंक खाता खोल्दा नै डिम्याट खाता पनि खोल्न सक्नुहुन्छ। यसका साथै ब्रोकर कम्पनीहरुले पनि डिम्याट खाता खोल्ने सेवा दिइरहेका छन्।

बैंक तथा डिम्याट खाता खोलिसकेपछि कम्पनीले आईपीओ निष्काशन गरेको समयमा बैंकमा गई निष्काशन फाराम भरी आईपीओमा आवेदन दिन सक्नुहुनेछ।

मेरो शेयर वेब तथा एपबाट आवेदन दिन तपाईलाई मेरो शेयर खाताको आवश्यकता पर्दछ। यसका लागि तपाईले मेरो शेयर खाता खोल्ने फाराम भर्नुपर्दछ। त्यसपछि तपाईलाई मेरो शेयरको युजरनेम र पासवर्ड प्रदान गरिनेछ।

मेरो शेयरबाट आवेदन दिनका लागि सिआरएन नम्बर अनिवार्य चाहिन्छ। यसका लागि तपाईले खाता खोलेको बैंकमा गइ सिआरएन नम्बर उपलब्ध गराउन आवेदन दिनु पर्नेछ।

यी खाताहरु खोलिसकेपछि तपाईले इन्टरनेट भएको स्थानबाट निष्काशन अवधिभर जुनसुकै समयमा मेरो शेयरको युजरनेम तथा पासवर्ड प्रयोग गरी आवेदन दिन सक्नुहुनेछ।




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।