शेयर शिक्षाः शेयर बजार के हो? कम्पनीहरु कसरी शेयर बजारमा प्रवेश गर्छन्?

Sep 09, 2023 06:08 PM Merolagani



शेयर बजारको बारे अधिकांश मानिसहरुले सुनेकै होला। तर, शेयर बजारको सही जानकारी भने कमै मानिसहरुसँग हुने गर्दछ। अहिले अधिकांश मानिसहरु साइड बिजनेस या कुनै लगानीमार्फत आफ्नो दोस्रो आम्दानी कमाउन चाहन्छ।

यस्तै आम्दानीको अर्को स्रोतको रुपमा शेयर बजारलाई पनि लिन सकिन्छ। केहीले चाँडै धनी बन्नका लागि शेयर बजारमा लगानी गर्छन् भने केहीले दीर्घकालिन लगानी योजना बनाइ गर्छन्। तर, शेयर बजारमा लगानी गर्नुभन्दा अगाडि यसको बारेमा राम्रो जानकारी हुनु आवश्यक छ।

 

यस लेखको माध्यमबाट आज हामी शेयर बजार के हो? कम्पनीहरु शेयर बजारमा कसरी प्रवेश गर्छन्? भन्ने जानकारी दिन गइरहेका छौँ।

शेयर बजार के हो?

शेयर बजार एक यस्तो बजार हो जहाँ सूचीकृत कम्पनीहरुको शेयर स्टक एक्सचेञ्ज मार्फत खरिद तथा बिक्री गरिन्छ। यो खरिद तथा बिक्री कुनै स्टक ब्रोकरमो माध्यमबाट हुन्छ। सूचीकृत कम्पनी त्यो हो जसले कुनै स्टक एक्सचेञ्जमा आफ्नो शेयर ट्रेड गर्नका लागि सूचीकृत हुन्छन्। सरल भाषामा भन्नु पर्दा शेयर बजार त्यो बजार हो जहाँ शेयर खरिद बिक्री हुन्छ।

शेयर बजारमा शेयर मात्र खरिद बिक्री हुँदैन। यसका अतिरिक्त यहाँ बण्ड, म्युचुअल फण्ड, सरकारी ऋणपत्र, विकास ऋणपत्रहरु पनि खरिदबिक्री हुन्छ।

अहिले नेपालमा केबल एक स्टक एक्सचेञ्ज कार्यरत छ, त्यो हो नेपाल स्टक एक्सचेञ्ज।

शेयर मार्केटमा सूचीकृत कम्पनीहरु आफ्नो शेयर खरिद गर्न सर्वसाधारणलाई आमन्त्रित गर्छन्। कुनै पनि कम्पनीको शेयर खरिद गरी जो कोही पनि व्यक्ति सो शेयर अनुपातमा उक्त कम्पनीको मालिन बन्न सक्छ।

आजभोलि मार्केटमा लगानीको धेरै विकल्पहरु छन्। तर, त्यसमध्ये अधिकांश लगानीका विकल्पहरुले मुद्रास्फितीलाई हराउन सक्दैन या मुद्रास्फितीभन्दा थोरै मार्जिनले अगाडि रहन्छ। त्यहीँ, शेयर बजारमा गरिएको लगानीले हामीलाई आफ्नो पूँजी तिव्र गतिमा बढाउने विकल्प प्रदान गर्दछ।

तर, केही मानिसहरु शेयर बजारलाई बरबादीको बाटो पनि मान्दछन्। वास्तवमा शेयर मार्केट बरबादीको बाटो तब हुन्छ जब लगानीकर्ता अरुको लहलहैमा लगानी गर्दछ या त सोच विचार नगरी कुनै शेयर वा स्टकमा लगानी गर्दछ।

लगानीकर्ताले शेयर बजारबाट तब फाइदा लिन सक्छ जब लगानीकर्ताले सोच विचार तथा अध्ययन गरेर शेयरमा लगानी गर्दछ।

शेयर बजारमा कुनै कम्पनी कसरी सूचीकृत हुन्छ?

अघिल्लो भागमा हामीले कम्पनीले किन शेयर जारी गर्छन्? भन्ने विषयमा चर्चा गरिसकेका छौँ। यस भागमा हामी शेयर जारी गरेपश्चात कम्पनीहरु कसरी शेयर बजारमा सूचीकृत हुन्छन्? भन्ने विषयमा चर्चा गर्न गइरहेका छौँ।

शेयर बजारमा कुनै कम्पनी कारोबारयोग्य हुनका लागि उसलाई नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हुनु पर्दछ।

मानौँ यदि कुनै कम्पनीको मालिकलाई पूँजीको आवश्यकता छ भने त्यसका लागि सबैभन्दा पहिला उसले नेपाल धितोपत्र बोर्ड अर्थात सेबोनमा आफ्नो कम्पनीको विवरण प्रस्तुत गर्नुपर्ने हुन्छ।

सेबोनको स्वीकृतपश्चात कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्दछ। प्रथम पटक निष्काशन गरिने शेयरलाई इनिसियल पब्लिक अफरिङ्ग अर्थात आईपीओ भनिन्छ। निष्काशन बन्द भएपछि कम्पनीले सो शेयर आफ्ना आवेदकहरुमाझ बाँडफाँट गर्दछ। बाँडफाँट अनुसार शेयर प्राप्त गरेका शेयरधनीहरुको डिम्याट खातामा सिडिएस एण्ड क्लियरिङ्गले पठाउँछ। सो शेयर दोस्रो बजारमा कारोबार गर्नुभन्दा अगाडि नेप्सेमा सूचीकृत हुनु आवश्यक छ। सूचीकरणका लागि आईपीओ जारी गरेको कम्पनीले आफ्नो शेयर रजिष्ट्रार मार्फत कम्पनीको सम्पूर्ण कागजातसहित नेप्सेमा आवेदन दिनु पर्दछ। नेप्सेले स्वीकृती दिएपछि कम्पनीको शेयर सूचीकृत हुन्छ र लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न सक्षम हुन्छन्।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।