सामान्यतया मानिसहरु शेयरबजारबाट सजिलै पैसा कमाउन सकिन्छ भन्ने धारणाका साथ प्रवेश गर्ने गरेका छन्। शेयरबजारमा जोखिम कम हुन्छ र समय पनि कम दिए पुग्छ भन्ने आम मानिसहरुको धारणा छ। तर, शेयर बजारमा आम मानिसले सोचेजस्तो सजिलै पैसा कमाउन सकिँदैन।
बजारमा लगानी गर्न आफुसँगै कम्पनीको विश्लेषण गर्ने, सही समयमा खरिदबिक्री गर्ने र जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता हुनुपर्दछ।
शेयर बजार जोखिमपूर्ण छ। यहाँ विभिन्न प्रकारका जोखिमहरु हुन्छन्। यस्तै जोखिम र त्यसको व्यवस्थापनका बारेमा आज हामी यहाँ चर्चा गर्दैछौँ।
मूल्यगत जोखिम (मार्केट रिस्क): शेयरबजारमा भएका सबै कम्पनीहरुको शेयरमूल्य घटबढ हुन्छ। आफूले खरिद गरेको शेयरको मूल्य कुनैबेला पनि घटबढ हुन सक्छ। दैनिक कारोबारसँगै शेयरको मूल्य परिवर्तन भईराख्छ।
बजारमा माग र आपूर्तिले शेयरको मूल्य निर्धारण गर्दछ। मूल्यमा आएको उतारचढावको जोखिमलाई नै मार्केट रिस्क अर्थात मूल्यगत जोखिम भनिन्छ।
सामान्यतया प्राथमिक बजारमा लगानी गरेका लगानीकर्ताहरुले यस्तो जोखिम व्यहोर्नु पर्दैन भन्ने मानसिकता राख्दछ। उनीहरुको मूल्यगत जोखिम दोस्रो बजारमा शेयर खरिद गरेका लगानीकर्ताहरुको तुलनामा कम हुन्छ तर शून्य भने हुँदैछ। केही कम्पनीहरुको मूल्य अंकित मूल्यभन्दा तल झर्नसक्छ। जस्तै, अहिले केही जलविद्युत कम्पनीहरुको शेयरमूल्य अंकित मूल्यभन्दा कम छ।
व्यावसायिक तथा व्यवस्थापकीय जोखिम (बिजनेश रिस्क): सबै कम्पनी सँधै प्रगतिकै बाटोमा अघि बढ्छ भन्ने छैन। कुनैपनि कम्पनी गलत व्यस्थापकको हातमा परे अथवा व्यवस्थापकले गलत व्यावसायिक रणनीति अपनाएमा त्यो कम्पनी जुनसुकै बेलामा ताट पल्टिन सक्छ। यसको प्रत्यक्ष असर सो कम्पनीका शेयरधनीहरुलाई पर्छ। कम्पनीको एउटै गलत निर्णयले त्यसको शेयरमूल्य घटाई शेयरधनीहरुलाई नोक्सानी व्यहोर्न बाध्य गराउँछ।
नियामकिय जोखिम (रेगुलेटरी रिस्क): कुनै पनि कम्पनीको शेयरमूल्यलाई नियामक निकायको जोखिम रहन्छ। नियामक निकायले गर्ने नीतिगत परिवर्तनका निर्णयले कम्पनीको शेयरमूल्यमा उतारचढाव ल्याउन सक्छ। त्यस्तै, केन्द्रिय बैंकले समायानुसार परिवर्तन गर्ने करको दरले पनि शेयरमूल्यमा प्रभाव पारिरहेको हुन्छ। यस्तै समय समयमा नियामकीय व्यवस्थाका कारण हुने जोखिम नै निकायमकीय जोखिम हो। जस्तै, पछिल्लो समय नेपाल राष्ट्र बैंकले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने लघुवित्त कम्पनीहरुलाई कडाई गर्ने नीति सार्वजनिक भएसँगै लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आयो।
अन्य जोखिमः शेयरबजारमा यी बाहेक अन्य जोखिमहरु पनि हुन्छन्। जस्तै, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर, लगानीकर्ताको मनोविज्ञान जस्ता कारणहरुले शेयरबजारमा दैनिक जोखिम सिर्जना भइरहेका हुन्छन्। दुई महिना अघिसम्म नेप्से निरन्तर ओरालो लागिरहेको थियो। सबै कुरा सकारात्मक हुँदा पनि शेयरबजारले सकारात्मक गति लिन सकेको थिएन। जसको मुख्य कारण लगानीकर्ताहरुको कमजोर मनोबल हो। तर, दुई महिना यता बजार सकारात्मक गतिमा अघि बढिरहेको छ।
त्यस्तै, नेपाली शेयरबजारमा हल्लाले पनि प्रभाव पारिरहेको हुन्छ। कुनै कम्पनीसँग सम्बन्धित हल्लाहरु चलाएर त्यसको शेयरमूल्यलाई घटाउन वा बढाउन खोजिएको हुन्छ।
पोर्टफोलियो विविधिकरणः बजारबाट हुने जोखिमलाई कम गर्ने हो भने लगानीकर्ताले पोर्टफोलियो विविधिकरण गर्नुपर्छ। अर्थात लगानीकर्ताले सबै लगानी एउटै कम्पनी अथवा एउटै क्षेत्रका कम्पनीमा गर्नुहुँदैन। विभिन्न उपसमूहका कम्पनीहरु या विभिन्न कम्पनीहरुमा लगानी गरियो भने एउटाबाट घाटा भएपनि अर्कोबाट नाफा कमाई घाटा न्यूनिकरण गर्न सकिन्छ।
हतारमा निर्णय नलिनेः कुनै पनि लगानीकर्ताले हतारमा निर्णय गर्नुहुँदैन। धैर्यता सफल लगानीकर्ताको गुण हो। लगानीकर्ताहरुले हतारमा निर्णय गर्दा भएका परिणामहरु हामी दैनिक बजारमा देख्न सक्छौँ। कुनै कम्पनीको शेयरमूल्य केही बढ्यो भन्दैमा अरु केही नसोची खरिद गर्ने र केही घट्न थालेमा बिक्री गरिहाल्ने बानी लगानीकर्ताले हटाउनु पर्छ। सही समयमा सही निर्णय लिन सके मात्र लगानीकर्ताले नाफा कमाउन सक्छन्।
खरिदबिक्रीको रणनीति बनाउनेः लगानीकर्ताले कुनै पनि शेयर खरिद गर्नुअघि सही रणनीति बनाउनु अत्यन्त जरुरी हुन्छ। अरुको हल्लाको पछाडी लागेर बजारमा लगानी गर्ने लगानीकर्ताले खासै नाफा कमाउन सक्दैन। कुनैपनि कम्पनीको शेयर खरिद गर्नुअघि सो कम्पनीको विश्लेषण गरि खरिद र बिक्री गर्ने रणनीति बनाउनु पर्छ।
स्टप लसः शेयर बजारमा लगानी गर्ने हरेक व्यक्तिले जान्नुपर्ने मुख्य कुरा हो स्टप लस। यसले लगानीकर्ताको जोखिम न्यूनिकरण गर्न सहयोग गर्दछ। केही लगानीकर्ताहरु आफुले खरिद गरेको शेयरमूल्य घटेपछि कुनै दिन बढ्ने अपेक्षामा बिक्री नगरि राख्छन् र सो कम्पनीको शेयरमूल्य झन् घटेर धेरै नोक्सानी व्यहोर्नुपर्ने बाध्यता आउँछ। त्यसैले, आफुले खरिद गरेको शेयरको मूल्य घट्न थालेपछि ‘यो मूल्यभन्दा तल झर्यो भने बिक्री गर्छु’ भन्ने निर्णय लगानीकर्ताले गर्न सक्नुपर्छ।
टेक प्रोफिटः शेयर बजारका लगानीकर्ताले जान्नै पर्ने अर्को कुरा टेक प्रोफिट हो। यो स्टप लसको विपरितार्थ हो। आफुले खरिद गरेको शेयरको मूल्य बढ्न थालेपनि केही लगानीकर्ताहरु अझ बढ्छ कि भन्ने लोभमा शेयर बिक्री गर्दैनन् र मूल्य घट्न थालेपछि बढेको बेला बिक्री नगरेकोमा पछुताउँछन्। त्यसैले लगानीकर्ताले ‘यति प्रतिशत नाफा भएपछि त्यसलाई सुरक्षित गर्छु’ भन्ने स्पष्ट हुनुपर्दछ।