कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्काशन गरेको थियो। त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीले अब दोस्रो चरणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिशेयर २३७ रुपैयाँ ५८ पैसामा ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले निष्काशन गरेको आईपीओमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि असोज २८ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१, माछापुच्छ«े क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, सानिमा क्यापिटल लिमिटेड, सानिमा इक्वीटी फण्ड र सानिमा ग्रोथ फण्ड रहेका छन्।
कति कित्ता आवेदन दिन?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १३७ रुपैयाँ ५८ पैसा थप गरी कुल २३७ रुपैयाँ ५८ पैसाका दरले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा १५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
निष्काशन बन्द भएपश्चात धितोपत्र बाँडफाँट निर्देशिका अनुसार १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट भएमा कुल ९ लाख ७३ हजार २५४ आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसरी बाँडफाँट हुँदा ४ कित्ता बाँकी रहन्छ। जुन १० कित्ता शेयर प्राप्त गरेका आवेदकहरुमा नै बाँडफाँट गरिन्छ। अर्थात ४ जना आवेदकले कम्पनीको थप एक कित्ता प्राप्त गर्न सक्नेछन्। न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिएका आवेदकहरु थप एक कित्ता शेयर बाँडफाँटका लागि योग्य हुनेछन्।
औषत जोखिम जनाउने रेटिङ्ग
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई आइृआरएन त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँदछ।
इन्फोमेरिक्सले कम्पनीलाई २०७९ मंसिर १५ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८० मंसिर १४ गतेसम्म बहाल रहनेछ।
कस्तो कम्पनी हो?
सोनापुर मिनरल्स एण्ड आयल प्राईभेट लिमिटेड २०६५ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७७ साउन ७ गतेदेखि प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कारोबार गर्दै आएको कम्पनी हो।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. ९ मा रहेको छ। कम्पनीको कारखाना स्थल दाङ्ग जिल्ला साविक विजौरी गाविस वडा नं. १ हालको परिवर्तित तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा रहेको छ र आवश्यकता अनुसार प्रचलित कानूनको अधिनमा रहि सम्बन्धित निकायबाट स्वीकृति लिई रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्न तथा शाखा कार्यालयहरु खेल्न वा बन्द गर्न सक्नेछ।
कम्पनीले दाङ्ग जिल्ला, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा अवस्थित ८६ बिघा जमिनमा फैलिएको प्लान्टले २०६९ साल जेठ महिनादेखि क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ। यसको उत्पादन दायराले ग्राहकको विकासशिल आवश्यकता अनुसार ओपिसी र पिपिसी समावेश गरेको छ।

त्यस्तै कम्पनीले प्रदेश ५ दाङ्ग जिल्लाको बङ्गलाचुली गाउँपालिका (उत्खनन स्थल) को ४.१६५ वर्ग किलोमिटर क्षेत्रमा चुनढुङ्गाको उत्खनन कार्यका लागि खानी तथा भुगर्भ विभागबाट २०६७ पुस २७ गतेको प्राप्त अनुमति पत्रबाट २०६७ पुस २७ गतेदेखि २०९७ पुस २६ गतेसम्म बहाल रहने गरी अनुमति प्राप्त गरेको छ। त्यस्ते, कम्पनीले रोल्पा जिल्लाको रुन्टीगडढी गाउँपालिका (उत्खनन् स्थल) को ४.५० वर्ग किलोमिटर र ३ वर्गकिलोमिटर क्षेत्रमा चुनढुङ्गा उत्खनन् कार्यका लागि खानी तथा भुगर्भ विभागबाट क्रमश २०६७ पुस २७ गते र २०६६ पुस ९ गते अनुमति प्राप्त गरेको थियो।
कम्पनीले पूँजी तथा क्षमता वृद्धि सम्बन्धमा उद्योग विभागबाट २०७५ पुस १० गतेको पत्र मार्फत पूँजी तथा क्षमता वृद्धि र विद्युत शक्ति थप गर्ने अनुमति प्राप्त गरेको छ। संशोधित क्षमता अनुसार ओपिसीको वार्षिक क्षमता १ लाख ७२ हजार ७२ मेगाटन, पिपिसीको वार्षिक क्षमता ५ लाख ४९ हजार ४८० मेगाटन, पिएससीको वार्षिक क्षमता ४९ हजार ९२४ मेगाटन, र क्लिङ्कर (बिक्री) को वार्षिक क्षमता २ लाख १३ हजार ३५७ मेगाटन तथा विद्युत शक्ति २२ हजार के.भी.ए. रहेको छ।
उद्योगको कुल लागत ८ अर्ब ७१ करोड रुपैयाँ रहेको छ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीको आईपीओ निष्काशन गर्नुको मुख्य उद्देश्य संगठित संस्थामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट समेत प्रतिनिधित्व गराउने रहेको छ। त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न, संकलन भएको पूँजीलाई अधिकतम प्रयोग गरी व्यवसायको विकास गरी शेयरधनी लगानीकर्तालाई उच्चतम प्रतिफल सुनिश्चित गर्न कम्पनीले आईपीओ जारी गरिएको हो।
कम्पनीले आईपीओ निष्काशन गरी संकलन गरेको २ अर्ब ८९ करोड ६१ लाख ६९ हजार ७३८ रुपैयाँ ३६ पैसा रकम प्राइम कमर्सियल बैंक, नबिल बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, रनराइज बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकको चालु पूँजी कर्जा भुक्तानी गर्न प्रयोग गरिनेछ।
त्यस्तै, चुनढुङ्गाको उत्खनन् तथा खरिद, अन्य सम्पूर्ण कच्चा पदार्थ, प्याकिङ्ग मेटरियल, कोइला र इन्धनको खरिद तथा पैठारी गरी मौज्दात कायम गर्न लगानी गर्न, परियोजनाको दायित्वहरुको भुक्तानी गर्न, चालु दायित्व अन्तर्गतका सप्लायर्सहरुलाई भुक्तानी गर्न लगायत युसान्स तथा साइट प्रतितपत्रको सम्बन्धित दायित्वहरु भुक्तानी गर्न पनि प्रयोग गरिनेछ।
गत आर्थिक वर्षसम्ममा करिब ९२ करोड सञ्चित मुनाफा
गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले ९१ करोड ९० लाख ८९ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ८१ पैसा रहेको छ।

त्यसैगरी, कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ३ बर्अ १२ करोड ५९ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। भने प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५८ पैसा पुग्ने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा ५.२१ प्रतिशत रहेको कम्पनीको नेटवर्थमा प्रतिफल चालु आर्थिक वर्षको ८.७२ प्रतिशत पुग्ने प्रक्षेपण कम्पनीको रहेको छ।
पूँजी संरचना कस्तो?
हाल कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ रहेको छ। यस्तै कम्पनीको चुक्ता पूँजी १ अर्ब ८४ करोड ५० लाख ३० हजार रुपैयाँ रहेको छ।
स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि शेयर निष्काशन गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ पुग्नेछ।
आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक शेयरधनीहरुको ६० प्रतिशत सर्वसाधारणको ४० प्रतिशत कायम हुनेछ।
सञ्चालक समितिको संरचना
कम्पनीको सञ्चालक समितिमा कम्पनीमा एक जना महिला सहित ७ जना सञ्चालक रहनेछ। सोमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना रहने व्यवस्था रहेको छ।
महिला सञ्चालकको नियुक्ति सर्वसाधारण शेयरधनी समूहबाट गरिनेछ। कम्पनीको शेयर सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी भएपश्चात मात्र सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको नियुक्ति गरिनेछ।
कम्पनीको नियमावलीको नियम २८ मा व्यवस्था भए अनुरुप सञ्चालक पदमा नियुक्त हुनका लागि कुनै पनि शेयरधनीले आफ्नो नाममा कम्पनीमा १०० कित्ता शेयर लिएको हुनुपर्नेछ। तर स्वतन्त्र सञ्चालक र संगठित संस्थाको प्रतिनिधित्व गर्ने सञ्चालकको हकमा यो व्यवस्था लागू हुने छैन।
हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ५ जना मात्रै सञ्चालक समितिमा रहेका छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रतन लाल तायल रहेका छन्। त्यस्तै, कम्पनीका प्रबन्ध सञ्चालक निपेश तायल रहेका छन् भने अन्य सञ्चालकहरुमा प्रकाशन तायल, भिम प्रसाद पाठक र एलिसा पाण्डे रहेका छन्।
भावी योजना तथा रणनीति
कम्पनीको योजना उत्पादन विविधिकरण गर्ने, बिक्री प्रवर्द्धन गर्ने, डिलर नेटवर्कलाई सुदृढ बनाउने, ब्राण्ड प्रबर्द्धनका लागि प्रचार प्रसार गर्ने, निर्यात गर्न अवलोकन गर्ने रहेको छ। त्यसैगरी, उद्योगसँग सम्बन्धित खानीहरुको अनुसन्धान तथा विकास गर्ने, थप खानी क्षेत्रहरुको अनुमति लिई चुनढुङ्गा, आइरन ओर, जिप्सम, फ्लाइएश, आदिको व्यवस्था दिर्घकालिन रुपमा प्रबन्ध गर्ने तथा उपयुक्त अन्य स्थानमा शाखा उद्योग खोली सञ्चालन गर्ने यस कम्पनीको योजना रहेको छ।
संगठित संस्थाले आफ्नो उत्पादनलाई भारतमा आइएसआइ मार्क लिई भारतिय बजारमा र नीतिगत व्यवथा भएको खण्डमा बंगलादेशको बजार सम्म निर्यात गर्ने योजना बनाएको छ। उद्योगको क्षमता विस्तार गर्ने तथा उपयुक्त अन्य स्थानमा शाखा कार्यालयहरु तथा उद्योग खोली संचालन गर्ने, सिमेन्टसँग सम्बन्धित खनिज पदार्थहरुको अन्वेषण तथा विकाश र उत्खनन कार्य गर्ने, नेपालमा समान किसिमको उद्योग विकासमा अग्रस्थान हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्टिय बजारमा परिचित हुने कम्पनीको मुख्य उद्देश्य रहेको छ। गुणस्तरीय उत्पादनलाई प्राथमिकता राखि देश विकास, पूनर्निर्माण तथा भौतिक पूर्वाधार निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने योजना पनि कम्पनीले बनाएको छ।