हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Dec 13, 2023 11:03 AM Merolagani

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आज (मंसिर २७ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ।

कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले २ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षित गरेको छ। त्यसैगरी, कम्पनीले १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुलाई तथा ५ प्रतिशत अर्थात १५ लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ। अब भने कम्पनीले बाँकी रहेको २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणहरुका लागि निष्काशन गरेको हो।

हाल कम्पनीको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहेको छ। सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेपश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले निष्काशन गरेको आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसारको पर्याप्त आवेदन नपरे निष्काशन अवधि पुस ११ गतेसम्म थप गरिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको ‘मेरो शेयर’ को वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको शेयर प्रत्याभूतिकर्तामा एनआईएमबि एस क्यापिटल, प्रभु क्यापिटल, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र नबिल सेक्युरिटिज रहेका छन्।

कति कित्ता आवेदन दिन?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता २०६ रुपैयाँका दरले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

पछिल्लो समय निष्काशन भएका आईपीओहरुमा करिब १३ लाख लगानीकर्ताले आवेदन दिने गरेका छन्। कम्पनीले निष्काशन गरेको आईपीओको आकार ठूलो भएकोले १३ लाख लगानीकर्ताहरुले नै आवेदन दिएपनि एक जना लगानीकर्ताले १९ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्ने देखिन्छ। त्यसैले, कम्पनीको आईपीओमा साविकझैँ १० कित्ताका लागि मात्र आवेदन नदिई २० कित्ताका दरले आवेदन दिनु उपयुक्त हुनेछ।

पर्याप्त सुरक्षित जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

इक्रा नेपालले इन्स्यारेन्सलाई २०७९ चैत २४ गते क्रेडिट रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि एक वर्ष अर्थात २०८० चैत २३ गतेसम्म कायम हुनेछ।

कस्तो कम्पनी हो?

नेपालमा बीमा क्षेत्रलाई नेपाल सरकारको स्वामित्वमा रहेको एकमात्र पुनर्बीमा कम्पनीले सेवा दिंदै आएको थियो। बजारमा अझ बढी क्षमता प्रदान गर्न र पुनर्बीमा प्रिमियमको आधारमा बहुमूल्य विदेशी मुद्राको प्रवाहलाई रोक्नको लागि देशमा थप एक पुनर्बीमा कम्पनीको आवश्यकता र अवसर रहेको महसुस भएकाले बीमा नियामक, तत्कालिन बीमा समितिले नेपालमा दोश्रो पुनर्बीमा कम्पनी स्थापना गर्न अभिव्यक्तको आव्हान गरिएको थियो। जसमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडले समान उद्देश्यको कम्पनी खोल्नका लागि आशयपत्र प्राप्त गरि कम्पनी ऐन, २०६३ बमोजिम तत्कालिन बीमा ऐन, २०४९ बीमा नियमावली, २०४९ तथा प्रचलित कानूनको अधिनमा रहि २०७८ जेठ २३ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७८ असार ३१ मा तत्कालिन बीमा समितिबाट बीमा व्यावसाय कारोबार गर्न इजाजत प्राप्त गरेर सञ्चालन भइरहेको कम्पनी हो।

कम्पनीको रजिष्टर्ड कार्यालय बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १, नक्सालमा रहेको छ।

आईपीओ निष्काशन गर्नुको उद्देश्य

कम्पनीको जारी पूँजी १० अर्बमध्ये प्रबन्धपत्रमा व्यवस्था भए अनुसार जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरी प्रचलित कानून बमोजिम सर्वसाधारणहरुलाई कम्पनीको सञ्चालनमा सहभागी गराउन कम्पनीले आईपीओ जारी गरेको हो।

कम्पनीले आईपीओ जारी गर्नुको मुख्य उद्देश्य प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्नु र संकलन भएको पूँजीलाई अधिकतम प्रयोग गरी पुनर्बीमा व्यवसायलाई स्वदेश तथा विदेशमा विस्तार गर्नु रहेको छ।

कहाँ प्रयोग गरिन्छ आईपीओ निष्काशन गरी संकलन भएको पूँजी?

सार्वजनिक निष्काशन मार्फत प्राप्त हुने पूँजी पुनर्बीमाले तय गरेको आफ्नो लक्ष्यलाई हासिल गर्नको निम्ति नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम र अन्य नियम कानुन अनुसार नै विभिन्न क्षेत्रमा लगानीका लागि उपयोग गरिनेछ।

कम्पनीले आईपीओ निष्काशन गरी प्राप्त हुने पूँजीमध्ये ६ करोड ८६ लाख रुपैयाँ नेपाल सरकारको ऋणपत्र तथा विकास ऋणपत्रमा, ३ अर्ब ५० करोड ३९ लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दती निक्षेपमा, ३४ करोड ३० लाख रुपैयाा विकास बैंकको मुद्दती निक्षेप र १७ करोड १५ लाख रुपैयाँ वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्नेछ। त्यसैगरी, कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ पब्लिक लिमिटेड कम्पनीको डिबेञ्चर तथा शेयरमा, १ अर्ब ५० करोड रुपैयाँ घर जग्गा कार्यालय प्रयोजनको लागि र २५ करोड रुपैयाँ इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्नेछ।

चालु आर्थिक वर्षमा १ अर्ब सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण

कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २ करोड ६४ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ २६ पैसा र प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७१ पैसा पुग्ने प्रक्षेपण गरेको छ।

गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित मुनाफा ४४ करोड २४ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ९२ पैसा रहेको छ।

पूँजी संरचना कस्तो?

कम्पनीको अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको छ। उक्त पूँजीलाई १०० रुपैयाँका दरले २१ करोड कित्ता शेयरमा विभाजन गरिएको छ।

कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ। उक्त पूँजीलाई १०० रुपैयाँका दरले १० करोड कित्ता शेयरमा विभाजन गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ।

आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर संरचना संस्थापक समूहको ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ।

सञ्चालक समितिमा को को छन्?

कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ। समितिमा संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना हुने प्रावधान रहेको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा हंशराज हुलाशचन्द्र एण्ड कम्पनी प्रा.लि. नेपालका अध्यक्ष तथा प्रबन्ध सञ्चालक शेखर गोल्छा रहेका छन्। त्यसैगरी, कम्पनीको अन्य सञ्चालकहरुमा जगदम्बा मोटर्स प्रा.लि.का प्रतिनिधि शाहिल अग्रवाल, अमित मोर र साक्षी वंसल (गुप्ता) रहेका छन् भने स्वतन्त्र सञ्चालकमा सुभास कुमार झुनझुनवाला रहेका छन्।

सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ। तर, संचालकहरु पुनः नियुक्तिको लागि योग्य हुने छन्। बीमा ऐन, २०७९ (तत्कालिन बीमा ऐन, २०४९) को दफा ४८ बमोजिम स्वतन्त्र सञ्चालक एक कार्यकालको लागि मात्र नियुक्त हुन सक्नेछ।

भावी योजना तथा रणनीति

कम्पनीले आफ्नो उद्देश्य पुरा गर्नका लागि निम्न योजना तथा रणनीति अवलम्बन गर्नेछः

१) आफ्नो सेवा विस्तारको क्रममा विविधता ल्याउँदै नाफा वृद्घि गर्न प्रयास गर्ने।

२) व्यवसायिक तथा रणनीतिक साझेदारहरुसँग सम्बन्ध स्थापित गर्ने तथा थप सुदृढ गर्ने।

३) कम्पनीलाई विभिन्न अफ्रिकी तथा एशियाली मुलुकहरुमा ब्रान्डिङ्ग गर्दै व्यवसाय वृद्घि गर्ने।

४) बीमामा श्रोतको विविधता, भौगोलिक विविधता, बीमाको प्रकारको विविधता तथा विभिन्न प्रकारको विविधता ल्याउने प्रयास गर्ने।

५) बीमा बजारको प्रामाणिक तथ्यमा केन्द्रित रही खोज तथा अनुसन्धान गर्ने।

६) वर्तमान र नयाँ बजारको तथा ग्राहक वर्गको खोज गरी सेवा प्रवाह गर्ने।

कति होला ओपनिङ्ग रेञ्ज?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।