पुनः घट्यो बजार, कारोबार रकममा भने वृद्धि

Sep 15, 2024 03:18 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो साताको बुधबारदेखि घटिरहेको बजार, गत साताको अन्तिम कारोबार दिन ७८.३१ अंक बढेर बन्द भएको थियो। तर यस दिन नेप्सेले सो वृद्धिलाई निरन्तरता भने दिन सकेन।

आइतबार नेप्से परिसूचक ५०.७३ अंक घटेर २६३७.७९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.८१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८३ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत बिहीबार ८ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको १ लाख १९ हजार ७३९ पटकको कारोबारमा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिभरफल्स पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जी र इष्टर्न हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन तेह्रथुम पावर कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने बलेफि हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १०३ रुपैयाँ ९० पैसा घटेर ९३५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधकि ३.६३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक साढे ३ प्रतिशत घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।