मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा जानुभयो । उहाँ जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी संवत् १४४८ चलिरहेको छ ।
कुरानमा निजी सम्पत्तिको व्याख्या
कुरानले सम्पत्ति र व्यापारलाई आफैंमा निषेध गरेको छैन । बरु मानिसलाई संसारमा आफ्नो वैध हिस्सा नबिर्सन आग्रह गर्छ।
सूरा अल-कसस २८:७७ मा भनिएको छ—अल्लाहले दिएको सम्पत्तिबाट परलोकको हित खोज, तर संसारमा आफ्नो हिस्सा नबिर्स, अरूमाथि राम्रो गर र पृथ्वीमा भ्रष्टाचार नफैलाऊ।

यसको आर्थिक अर्थ महत्त्वपूर्ण छ । सम्पत्ति कमाउन सकिन्छ, व्यापार गर्न सकिन्छ र आर्थिक समृद्धि खोज्न सकिन्छ—तर त्यसको स्रोत र प्रयोग न्यायपूर्ण हुनुपर्छ।
यही कारण इस्लामिक आर्थिक चिन्तनमा ‘हलाल कमाइ’ भन्ने अवधारणा महत्त्वपूर्ण बनेको हो ।
व्यापार स्वीकार्य, ब्याज अर्थात् रिबा निषेध
कुरानको आर्थिक शिक्षामध्ये सबैभन्दा चर्चित विषय रिबा (Riba) हो ।
सूरा अल-बकरा २:२७५ मा स्पष्ट रूपमा व्यापारलाई अनुमति दिइएको र रिबालाई निषेध गरिएको उल्लेख छ । व्यापारबाट हुने नाफा र ऋणमा पूर्वनिर्धारित ब्याजलाई एउटै कुरा मानिएको छैन।
आधुनिक इस्लामिक वित्तमा यही सिद्धान्तका आधारमा पूँजी र उद्यमबीच जोखिम तथा प्रतिफल बाँडफाँट गर्ने मोडल विकसित भएको छ। इस्लामिक वित्तमा वित्तीय प्रतिफल वास्तविक आर्थिक गतिविधि, सम्पत्ति, बिक्री, भाडा वा नाफा–घाटा बाँडफाँटसँग जोडिनुपर्छ।
यस दृष्टिले हेर्दा प्रश्न केवल ‘ब्याज कति प्रतिशत ?’ भन्ने होइन, पूँजीले वास्तविक उत्पादन र व्यवसायसँग कति सम्बन्ध राख्छ ? भन्ने पनि हो।
ऋण लिनु–दिनुमा लिखित सम्झौता
कुरानको सबैभन्दा लामो आयत नै आर्थिक कारोबारसँग सम्बन्धित छ।
सूरा अल-बकरा २:२८२ मा निश्चित अवधिका लागि ऋणको कारोबार गर्दा त्यसलाई लिखित रूपमा राख्न, न्यायपूर्ण ढंगले लेख्न र सम्बन्धित पक्षहरूले स्पष्ट विवरण राख्न निर्देशन दिइएको छ। अर्थात् कुरानको आर्थिक दर्शनमा विश्वास मात्र पर्याप्त छैन, कारोबारमा दस्तावेज र पारदर्शिता पनि आवश्यक छ।
ऋणी समस्यामा परेमा समय दिनुपर्छ
कुरानले ऋण तिर्न नसक्ने व्यक्तिप्रति पनि फरक दृष्टिकोण राख्छ ।
सूरा अल-बकरा २:२८० मा ऋणी कठिनाइमा परेको अवस्थामा उसलाई सहज हुने समयसम्म म्याद दिन र सम्भव भए ऋणलाई सहयोगस्वरूप माफ गर्नु अझ राम्रो हुने उल्लेख छ।
व्यवसाय असफल भयो, किसानको उत्पादन नष्ट भयो वा प्राकृतिक विपत्तिले ऋणीको आम्दानी रोकियो भने केवल जरिवाना र दबाब बढाउनुको सट्टा ऋणीको वास्तविक भुक्तानी क्षमता हेर्नुपर्ने नैतिक विचार यहाँ भेटिन्छ ।
व्यापारमा ठगी र गलत तौल–नापविरुद्ध कडा चेतावनी
कुरानले बजारमा इमानदारीलाई अत्यन्त महत्त्वपूर्ण मान्छ।
सूरा अल-मुतफ्फिफिन ८३:१-३ मा अरूबाट सामान किन्दा पूरा नाप लिने तर बेच्दा कम तौल दिने व्यापारीविरुद्ध कडा चेतावनी दिइएको छ।
त्यस्तै सूरा अल-इस्रा १७:३५ मा पूरा नाप दिन र सही तराजुमा तौल गर्न निर्देशन दिइएको छ।
सम्पत्ति कमाउने तर अरूको सम्पत्ति अन्यायपूर्वक नखाने
सूरा अन-निसा ४:२९ मा मानिसलाई एक–अर्काको सम्पत्ति अन्यायपूर्ण तरिकाले नखान र आपसी सहमतिमा हुने वैध व्यापार गर्न भनिएको छ । यसको अर्थ जबर्जस्ती, ठगी, छल, शोषण वा अन्यायपूर्ण तरिकाले अर्को व्यक्तिको सम्पत्ति हासिल गर्नु वैध आर्थिक गतिविधि होइन।
जकात : सम्पत्तिको सामाजिक पुनर्वितरण
कुरानको आर्थिक दर्शनमा जकात अत्यन्त महत्वपूर्ण संस्था हो।
सूरा अत-तौबा ९:६० ले जकात वा अनिवार्य दानको प्रयोगका लागि गरिब, जकात व्यवस्थापनमा संलग्न व्यक्ति, ऋणी, यात्रामा समस्यामा परेका व्यक्ति लगायतका समूहहरू उल्लेख गर्छ।
यसले एउटा महत्त्वपूर्ण कुरा देखाउँछ—सम्पत्ति केवल व्यक्तिगत उपभोगका लागि मात्र होइन, सामाजिक जिम्मेवारी पनि हो।
गरिबी समाधान केवल दानबाट होइन, आर्थिक सहभागिताबाट
कुरानले गरिब तथा ऋणी मानिसलाई जकातको लाभार्थीको रूपमा स्वीकार गर्छ। तर इस्लामिक वित्तको आधुनिक विकासमा यसको अर्को आयाम पनि छ—जोखिम बाँडेर उद्यममा लगानी गर्ने।
इस्लामिक वित्तमा लगानीकर्ताले केवल ऋणदाता भएर निश्चित प्रतिफल लिनेभन्दा पनि व्यवसायको जोखिम र प्रतिफलमा सहभागी हुने संरचनाहरू प्रयोग गरिन्छ। यसमा Mudarabah र Musharakah जस्ता profit-and-loss-sharing मोडलहरू पर्छन्।
सम्पत्ति थुपार्नु मात्र आर्थिक सफलता होइन
कुरानमा कारुनको कथा उल्लेख हुन्छ। ऊ अत्यन्त ठूलो सम्पत्तिको मालिक थियो, तर सम्पत्तिप्रतिको अहंकार र त्यसको गलत सामाजिक दृष्टिकोणलाई आलोचना गरिएको छ। त्यसपछि २८:७७ मा संसारको हिस्सा नबिर्सनुका साथै राम्रो काम गर्न र भ्रष्टाचार नगर्न निर्देशन दिइन्छ।
‘पैसाबाट पैसा’ भन्दा ‘उत्पादनबाट प्रतिफल’
आधुनिक इस्लामिक वित्तको एउटा केन्द्रीय विचार यही हो।
इस्लामिक वित्तले वित्तीय कारोबारलाई वास्तविक आर्थिक गतिविधिसँग जोड्ने, जोखिम बाँड्ने र अत्यधिक सट्टेबाजी तथा अनिश्चितता घटाउने प्रयास गर्छ।
यसलाई सरल भाषामा भन्दा—पैसा आफैंले पैसा उत्पादन गर्ने वस्तु होइन, पैसा उत्पादन, व्यापार वा सम्पत्तिसँग जोडिएपछि आर्थिक प्रतिफलको आधार बन्नुपर्छ।
कृषि अर्थतन्त्रसँग कुरानको आर्थिक दर्शनको सम्बन्ध
नेपालजस्तो कृषि प्रधान अर्थतन्त्रका लागि यो विषय अझ रोचक हुन सक्छ।
कृषिमा किसानले जमिन, श्रम, बीउ र समय लगानी गर्छ। अर्को पक्षले पूँजी वा बजार उपलब्ध गराउन सक्छ। उत्पादन सफल भए दुवैले लाभ लिन सक्छन्, प्राकृतिक विपत्ती वा बजार जोखिम आएमा जोखिम कसरी बाँड्ने भन्ने प्रश्न उठ्छ।
इस्लामिक वित्तमा वास्तविक आर्थिक गतिविधि र जोखिम बाँडफाँटलाई प्रमुख विशेषता मानेको छ।त्यसैले कृषि उद्यमका लागि यसको अध्ययन केवल धार्मिक विषय नभई वैकल्पिक कृषि वित्त, साना उद्यम वित्त र सामाजिक लगानीको दृष्टिले पनि उपयोगी हुन सक्छ।
अर्थतन्त्रका लागि के सिकाइ ?
कुरानको आर्थिक दर्शनलाई कानुन वा आधुनिक अर्थतन्त्रमा सीधै लागू गर्ने प्रश्न अलग विषय हो। तर यसबाट केही सार्वभौमिक आर्थिक नैतिकता निकाल्न सकिन्छ।
पहिलो—व्यापारमा विश्वास।
बजार विश्वासमा चल्छ। गलत तौल, नक्कली उत्पादन र ठगीले बजारको विश्वास नष्ट गर्छ।
दोस्रो—करारको सम्मान।
ऋण तथा व्यावसायिक सम्झौता लिखित र पारदर्शी हुनुपर्छ। कुरान 2:282 ले यसलाई विशेष महत्त्व दिएको छ।
तेस्रो—गरिबीप्रति सामाजिक जिम्मेवारी।
जकातको अवधारणाले सम्पत्तिको सामाजिक दायित्वतर्फ ध्यान आकर्षित गर्छ।
चौथो—वित्त र वास्तविक अर्थतन्त्रबीच सम्बन्ध।
इस्लामिक वित्तले वित्तीय प्रतिफललाई वास्तविक सम्पत्ति तथा आर्थिक गतिविधिसँग जोड्ने प्रयास गर्छ।
पाँचौं—नाफासँगै जोखिम पनि।
व्यवसायमा नाफा खोज्ने हो भने जोखिम पनि स्वीकार गर्नुपर्ने अवधारणा इस्लामिक वित्तको महत्त्वपूर्ण पक्ष हो।
स्रोतः
https://muslimheritage.com/gleanings-islamic-contrib-agriculture/
International Monetary Fund — Islamic Finance