नेप्सेसँगै बढ्यो कारोबार रकम

Jun 10, 2025 03:23 PM Merolagani



मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक २५.०७ अंक बढेर २६७८.१७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ८ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ८१ हजार ७३८ पटकको कारोबारमा १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँबराबरको २ करोड ३६ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने जानकी फाइनान्सकाे शेयरमूल्य करिब ७ प्रतिशत बढेकाे छ। कारोबारमा आएको रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक ६.१४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड ४९ लाख ५३ हजार रुपैयाँबराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन अरुण काबेली पावरको ५३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको साढे ४६ करोडको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.१२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।