१२ वटाको हाइड्रोपावरकाे जगेडा घाटामा,सूचीकृत तीनवटाले रिपाेर्ट निकाल्न छाेडे

Feb 18, 2020 06:18 PM merolagani



रबिन पाैडेल ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत अधिकांश हाइड्रोपावर कम्पनीहरुको अवस्था नाजुक रहेको देखिएको छ। हाइड्रो पावर कम्पनीहरुले सार्वजानिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीहरुको अधिकांश सूचक नकारात्मक देखिएको छ। 

समयमानै आयोजना सम्पन्न गर्न नसक्दा अधिकांश हाइड्रोपावर कम्पनीको लागत बेस्सरी बढेको छ भने दोस्रो बजारमा समेत शेयरमूल्य निकै तल झरेको छ। विद्युत उत्पादन थालिसकेका हाइड्रोपावर कम्पनीहरुको प्रसारण लाइन नबन्दा उत्पादित बिद्युत खेर गइरहेको छ।

अहिले दोस्रो बजारमा ८ वटा भन्दा धेरै हाइड्रोपावरको शेयरमूल्य सय रुपैयाँभन्दा तल रहेको छ। भने अन्यको पनि एक सय रुपैयाँकै हाराहारीमा रहेको छ।

  • तीनवटा हाइड्रोले वित्तीय विवरण सार्वजानिक नै गरेनन

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत तीनवटा हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरेका छैनन्। सर्वसाधारणमा आइपीओ जारी गरी शेयर बजारमा सूचीकृत भइसकेका घलेम्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर र पञ्चकन्या हाइड्रोपावरले वित्तीय विवरण सार्वजानिक नगरेका हुन्।

यी हाइड्रोपावर कम्पनीहरुले पहिलो त्रैमासमा पनि वित्तीय विवरण सार्वजानिक गरेका छैनन्।

  • सात हाइड्रोपावर कम्पनी अझै घाटामा

दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरेका २९ वटा हाइड्रोपावर कम्पनीहरुमध्ये ६ वटा हाइड्रोपावर कम्पनी अझै घाटामा रहेको देखिएको छ भने २३ वटा कम्पनी नाफामा रहेका छन्।

नाफामा रहेका हाइड्रोपावर कम्पनीहरुमध्ये पनि गत वर्षको तुलनामा धेरैको नाफा घटेको छ। हाइड्रोपावर कम्पनीहरुले समयमानै विद्युत उत्पादन थाल्न सकेका छैनन भने उत्पादन गरेको विद्युत पनि व्यवस्थित रुपमा बिक्री गर्न नपाँउदा उनीहरुको नाफा बढ्न नसकेको हो।

दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बुटवल पावरले सबैभन्दा धेरै नाफा कमाएको छ भने खानिखोला हाइड्रोपावर सबैभन्दा धेरै घाटामा रहेको छ। यस अवधिमा बुटवल पावरले ८५ करोड रुपैयाँ नाफा कमाएको छ भने खानिखोला हाइड्रोपावर ६ करोड रुपैयाँ घाटामा रहेको छ।

दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै घाटामा रहेको खानीखोला हाइड्रोपावरले बिद्युत प्राधिकरणले समयमानै विद्युत प्रसारणलाइन नबनाउँदा आयोजनाको दुई तिहाई बिद्युत खेर गइरहेकोले नाफा बढाउन नसकेको जनाएको छ। आयोजनाबाट उत्पादित एक तिहाइमात्र बिक्री भइरहेको कम्पनीले जनाएको छ।

प्राधिकरणले समयमानै प्रसारण लाईन नबनाइदिँदा हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्रीबाट हुने मुख्य आम्दानीको स्रोत नै बन्द भएको छ जसको कारण नाफा बढाउन सकेका छैनन्।

  • चुक्ता पूँजी र जगेडा

हाइड्रोपावर कम्पनीहरुमध्ये अपर तामाकोसी हाइड्रोपावर चुक्ता पूँजीको हिसाबले सबैभन्दा अगाडि रहेको छ भने बुटवल पावर जगेडाको हिसाबले सबैभन्दा अगाडि रहेको छ।

दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार अझै १२ वटा हाइड्रोपावरको जगेडा घाटामा रहेको छ।

  • विद्युत बिक्रीमा चिलिमे अगाडी

दोस्रो त्रैमाससम्ममा बिद्युत बिक्रीबाट धेरै आम्दानी गर्नेमा चिलिमे जलविद्युत सबैभन्दा अगाडि रहेको देखिएको छ। चिलिमे जलविद्युतले यस अवधिमा बिद्युत बिक्रीबाट ६१ करोड रुपैयाँ आम्दानी गरेको छ।

त्यसैगरी रैराङ हाइड्रोपावरले सबैभन्दा कम ४७ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ भने ६ वटा हाइड्रोपावर कम्पनीलले भने अझै बिद्युत उत्पादन थालेका छैनन्।

  • प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ वटा हाइड्रोपावर कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ। अपर तामाकाेसी, सान्जेन, रसुवागढी, माउन्टेन हाइड्रो, आँखुखोला, दिब्यश्वरी र खानीखोला हाइड्रोपावरको प्रतिशेयर आम्दानी ऋणात्मक रहेको देखिएको हो।

सर्वाधिक नाफा कमाउने बुटवल पावर कम्पनीको प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ पनि सबैभन्दा धेरै रहेको छ। कम्पनीकाे प्रतिशेयर आम्दानी ४६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ २१ पैसा रहेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।